जनकपुरधाम, २४ माघ । आफूलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थ बताउने रामरोशन दासको बदमासीका कारण अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको ‘ताम्रपत्र’ फिर्ता गरिएको आरोप लगाइएको छ ।

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरेर भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको दुई विशाल देवशिलासँगै प्रदान गरिएको ‘ताम्रपत्र’ दासका कारण फिर्ता गरिएको छ ।

गत बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याएर बिहीबार श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको देवशिलासँगै जानकी मन्दिरको तर्फबाट ताम्रपत्र पनि प्रदान गरिएको थियो ।

तर, सो ‘ताम्रपत्र’ जानकी मन्दिरको तर्फबाट श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्रदान गरिएको भनिएपनि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई जानकारी नै नदिई आफूलाई मन्दिरको उत्तराधिकारी महन्थ बताउने रामरोशनले प्रदान गरेको बताइएको छ । पछि सो ताम्रपत्र श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले अस्विकार गर्दै जानकी मन्दिरलाई फिर्ता गरेको थियो ।

सो ताम्रपत्रमा रामरोशन दासले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँगै आफ्नो नाम पनि लेखेर श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरेको जानकी मन्दिरका मुख्य पूजारी मनोज कुमार झाले बताए ।

झाले रोशन दासले आफ्नो ईच्छाले सो ताम्रपत्र ट्रस्टलाई प्रदान गरेको र त्यसमा मुख्य व्यक्तिको मात्रै नाम हुनुपर्नेमा उनले आफ्नो नाम पनि लेखेकोले अस्विकार गर्दै फिर्ता गरिएको बताए ।

‘जहाँ मान महन्थको नाम छ त्यहाँ उत्तराधिकारीको नाम लेख्नुपर्ने कुनै आवश्यकता नै छैन्‘ उनले भने,‘पूर्व योजना बिना नै रामरोशनले आफ्नो ईच्छाले ताम्रपत्र हस्तान्तरण गरेका थिए ।’

उनले रोशनले जानकी मन्दिरलाई जानकारी नै नदिएर श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई ताम्रपत्र दिन खोजेकोसमेत बताए ।

यस्तो ऐतिहासक कामका लागि रोशनले मान महन्थसँग समन्वय गरेर काम गनुपर्नेमा उनलाई कुनै जानकारी नै नदिई आफू अनुकूल मनोमानी तरिकाले काम गरेको उनको आरोप छ ।

अयोध्यामा निर्माणाधीन राममन्दिरमा भगवान् रामको मूर्ति बनाउन कालीगण्डकी नदीबाट उत्खनन गरिएको उक्त देवशिला अयोध्या पुर्याइएपछि विशेष समारोहकाबीच माघ १९ गते श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको थियो ।

यता, यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको उत्तराधिकारी महन्थ बताउने रामरोशन दासले बताए । उनले देवशिलासँगै आफूले ताम्रपत्र पनि हस्तान्तरण गरेर तुरुन्तै त्यहाँबाट फर्केकोले आफूलाई ताम्रपत्र फिर्ता भएकोबारे कुनै जानकारी नरहेको बताए ।