टर्की भूकम्पमा परी ५ हजार १ सयको निधन, ज्यान गुमाउनेको संख्या ४० हजार नाघ्ने डब्ल्यूएचओको अनुमान

एजेन्सी, २४ माघ । टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । सिरियाको सीमानजिकै सोमबार ७.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
बिबिसीका अनुसार भूकम्पका कारण टर्कीमा ३ हजार ५ सय र सिरियामा १ हजार ६ सय जना गरी ५ हजार १ सय जनाको ज्यान गएको पुष्टि भएको छ । २० हजार जना घाइते भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले भूकम्पका कारण दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेका बताएको छ । दुवै देशमा गरेर हजारौँ साना घर र सात हजार वटा ठूला भवन भत्किएका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् । अत्यधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्धार र राहतमा कठिनाइ भइरहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्न सक्ने बताएको छ । जसअनुसार ज्यान गुमाउनेको संख्या ४० हजार नाघ्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


