महोत्तरी, २४ माघ । जिल्ला अदालत महोत्तरीले ७ वर्षीया बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर गर्दै अरुण साहलाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले साहलाई पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसहित जन्मकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए । हत्या भएको ३ वर्षपछि गत आइतबार अदालतले दोषीलाई सजाय सुनाएको हो ।

७ मंसिर २०७६ मा बर्दिबासस्थित शुभम् बस्तीबाट बेपत्ता भएकी बालिका खातुन शव भोलिपल्ट साहको नै घरनजिक बोरामा फ्याँकिएको अवस्थामा फेलापरेको थियो । बयानका क्रममा साहले आरोप स्वीकारे थिए । पुर्पक्षकै क्रममा जेलमा रहेका साहलाई जन्मकैद सुनाइएको हो ।

अरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो । बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए । सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर भएका अरुण साहको घर स्थानीयको नियन्त्रणमा छ । गौशाला स्थायी घर भएका साहको बर्दिबासस्थित घर स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

घरको भित्तामा ‘यो अपराधीको घर हो, यसलाइ किन्ने प्रयास नगर्नुहोला’ भनेर लेखिएको छ । सोही बेला स्थानीयले घरमा आगजनीसमेत गरेका थिए ।