झापा, २४ माघ । झापाबाट प्रहरीले हातहतियारसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय ओम साहसहित चारजना भारतीय नागरिक रहेका छन् ।

उनीहरूको साथबाट फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्ड बरामद गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।