जनकपुरधाम, २२ माघ । सिरहाका एक युवकले युएईमा ८२ करोडको चिठ्ठा जितेका छन् । जिल्लाको गोलबजार नगरपालिका–१२ का रञ्जितकुमार पालले युएईमा ८२ करोडको चिठ्टा जितेका हुन् ।

उनले संयूक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित बिग टिकटको राफल ‘लक्की ड्र’अन्तर्गत २३ मिलियन दिराम अर्थात् ८२ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

७ वर्षअघि एक रेमिट कम्पनीको प्रतिनिधि भएर कतार पुगेका उनले १५ महिनादेखि चिट्ठा किन्न थालेका थिए । बिग टिकटका प्रतिनिधिबाट चिट्ठा परेको खबर सुनेर आफू निकै खुसी भएको पालले बताए । उनी कतारकै सनैयास्थित एक मनी एक्सचेन्जमा कार्यरत छन् ।

उनले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए । उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने ७ नेपाली र अन्य भारतीय तथा श्रीलंकाली छन् ।

ठूलो धनराशिको चिट्ठा जिते पनि आफूले अहिले गरिरहेको कामलाई निरन्तरता दिने उनले बताए । उनका अनुसार एउटा टिकटको ५ सय दिराम पर्छ ।

घरमा उनका बुवा, आमासहित १० र ५ वर्षका दुई छोरा छन् । परिवारका सदस्यहरु दंग रहेको उनले सुनाए । अहिले नै घर फर्कने योजना नबनाएको उनको भनाइ छ ।

बिग टिकट यूएईको अबुधाबीमा मासिक रूपमा खोलिने चिट्ठा हो । जहाँ हरेक महिनाको ३ तारिखमा विद्युतीय माध्यमबाट विजेता छनोट गरी घोषणा गरिन्छ ।