जनकपुरधाम, १९ माघ । गत आइतबार बिहान धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट ६ जना थुनुवा फरार भए ।

हिरासत कक्षको भित्ता फोडेर कैदीबन्दीहरु फरार भएको घटनाले प्रहरी प्रशासनको सुरक्षा व्यवस्थामाथि चौतर्फी प्रश्न गठ्यो । इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथी समेत प्रश्न चिन्ह खडा भयो ।

थुनुवा फरार भएपछि विवादित बनेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर बेचन यादवलाई नागरिक समाजले विदाई गरेको छ । थुनुवा फरार भएपछि विवादित हुनुका साथै शंकाको घेरामा रहेका यादवलाई नागरिक समाजले नै विदाई गरेको हो ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले थुनुवा फरार प्रकरणलाई छानविन समिति बनाएर अनुसन्धान समेत गरिरहेको छ । यादवको भूमिकामाथी समेत छानविन भइरहेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री बताउँछन् ।

यादवलाई ढल्केवरस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा तानिएको छ । उनको स्थानमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेवारी काठमाडौँको विशेष ब्युरो कार्यालयमा कार्यरत इन्सपेक्टर दिपक कार्कीलाई दिइएको छ ।