सिडिओले सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएकै दिन जिप्रकाबाट एक बिचौलिया पक्राउ

जनकपुरधाम, १८ माघ । धनुषामा नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले पाउने सम्पूर्ण सेवासुविधालाई सरल बनाइने बताइरहँदा धनुषा प्रहरीले आजै एक बिचौलियालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयको परिसरबाटै बिचौलियाको काम गर्ने एक व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ हनुमाननगर बस्ने ६० वर्षीय रामनारायण साह रहेका छन् ।
बुधबार सञ्चारकर्मीहरुसँगको भेटघाटमा प्रजिअ दाहालले सबभन्दा पहिले आफू कार्यरत अड्डालाई सेवाग्राहीमैत्री बनाउन भरपूर पहल गर्ने बताइरहँदा आजै जिल्ला प्रशासन कार्यालय परिसरबाट बिचौलियाको काम गर्ने साहलाई पक्राउ गरिएको छ ।
साहले जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीलाई काम छिटो छरितो रुपमा गराइदिन्छु भनि आर्थिक लाभ लिएर बिचौलियाको काम गरिरहेको गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले बिहीबार दिउँसो करिब २ बजेको समयमा सेवाग्राहीहरूसँग वार्गेनिङ्ग गरिरहेको अवस्थामा साहलाई पक्राउ गरेको डीएसपी क्षेत्रीले बताए ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
यसअघि आजै सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता, राहदानी राष्ट्रिय परिचय पत्रलगायतका काममा सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवाप्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


