विराटनगर, १८ माघ । ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका एक सहायक हवल्दार पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो । खानले नाम लिएपछि प्रहरीले विराटनगर–१४ बस्ने सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवलाई पक्राउ गरेको हो ।

भारतको जोगवनीबाट लागूऔषध ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा सहायक हवल्दार यादव पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा खानले प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट लागूऔषध ल्याउन लगाएको बयान दिएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले पक्राउ परेका प्रहरी सहायक हवल्दार यादवमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।