जनकपुरधाम, १७ माघ । सप्तरी प्रहरीले ट्याङ्करमा लोड रहेको डिजेल चोरी गरेर बेच्ने र किन्ने दुईजना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-७ बस्ने भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साह र कञ्चनरुप नगरपालिका-९ बस्ने २९ वर्षीय नबराज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भुजेलले ट्याङ्करमा लोड रहेको डिजेल चोरी गरी साहसँग बेचेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

गत बुधबार नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगंज डिपो बाराबाट को १ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालय विराटनगर पठाएकोमा बाटोबाटै ट्याङ्कर चोरी भएको थियो ।

ट्याङ्कर चालक कञ्चनरुप-९ बस्ने ४५ वर्षीय विनोद कुमार भुजेलले तेल लोड गरिएको ट्याङ्कर सोही साँझ करिब ७ बजे कञ्चनरुप-८ स्थित बि.कि.पम्पमा पार्किङ्ग गरेर आफ्नो घर गएका थिए । सो ट्याङ्कर गत आइतबार बिहान करिब ९ बजे शम्भुनाथ नगरपालिका-२ स्थित खैरबनामा बेवारिसे अवस्थामा फेला परेको थियो ।प्रहरी नायव उपरीक्षक सिंहका अनुसार बेवारिसे अवस्थामा ट्याङ्कर फेला परेको जानकारी पाउनासाथ उक्त स्थानमा प्रहरी पुगेर चेकजाँच गर्दा ट्याङ्करमा रहेको ५ वटा च्याम्बरमा ४ हजार लिटरको दरले २० हजार लिटर डिजेल मध्ये ट्याङ्करको ४ वटा च्याम्बर खाली र एउटा च्याम्बरमा डिजेल बाँकी थियो ।नेपाल आयल निगमले सिलबन्दी गरेको उक्त ट्याङ्करको सिलबन्दी तोडिएकाले शंकास्पद मानिस तथा पम्पलाई प्रहरी र नेपाल आयल निगम १ नं.प्रदेश कार्यालय विराटनगरका कर्मचारीको संयुक्त टोलीले छानविन तथा चेकजाँच गर्दा नवराज भुजेल समेतले शनिबार रातिको समयमा डिजेल लोड भएको ट्याङ्कर चोरी गरेर १६ हजार लिटर डिजेल बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।