नुनमा केमिकल मिलाएर पोटास भनी विक्री गर्ने एकजना पक्राउ

जनकपुरधाम, १७ माघ । सर्लाही प्रहरीले नुनमा केमिकल मिलाएर पोटास भनी विक्री गर्ने एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गोडैता नगरपालिका–७ बस्ने ५५ वर्षीय मोहन दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गोडैता नगरपालिका वडा नम्बर–७ र ८ मा सञ्चालनमा रहेको महालक्ष्मी कृषी सहकारी संस्था लिमिटेड र दास बिज भण्डारमा नुनमा विरला अक्साईड सिमेन्ट कलर नामक केमिकल मिसावट गरेर बोरामा प्याक गरी पोटास भनी बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले सयौँ बोरा नक्कली पोटाससहित उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पारस सर्वोत्तम खाद्यको बोराहरुमा नुन र विरला अक्साईड सिमेन्ट मिसावट गरी प्याक गरिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
प्रहरीले महालक्ष्मी कृर्षी सहकारी संस्था लिमिटेडबाट पारस सर्वोत्तम खाद्य इन्डोरमा इन्डिया प्रा.लि. लेखिएको प्रतिबोरा ५० किलो दर भएको ३१ बोरा, खुल्ला बोरामा २५ किलो भएको १ बोरा, आइपिएल डिएपी इन्डिया पोटास लिमिटेड लेखिएको पहेलो रङको सिलाएको प्रतिबोरा ५० किलो भएको २० बोरा र सोही कम्पनीको खाली बोरा १ थान, साल्ट लेखिएको सेतो रङको (नुन) को प्रतिबोरा ५० किलो दर भएको १०३ बोरा, बिरला अक्साइड सिमेन्ट कलर लेखिएको खाली प्याकेट ४ वटा र आधा भरिएको २ वटा प्याकेट, बोरा सिलाउने मेसिन १ थान बरामद गरेको छ ।
त्यस्तै, दास बिज भण्डारबाट पारस सर्वोत्तम खाद्य इन्डोरमा इन्डिया प्रा.लि.लेखिएको प्रतिबोरा ५० किलो दर भएको १० बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


