बस्तीको बिचमा फोहोरको थुप्रो, दुर्गन्धले स्थानीय आजित

जनकपुरधाम, १६ माघ । जनकपुरधाम उपमहानगरपालिकाको एक बस्तीमा फोहोरको दुर्गन्धले स्थानीयबासी आजित भएका छन् ।
जनकपुरधाम–७ बसहिया रोडस्थित माछाबजार भन्दा केही मिटरको दूरीमा अवस्थित बस्तीको बाटो छेउमै अस्थायी डम्पिङ साइट बनाएर फोहोर फाल्दै आएको देखिएको छ ।
फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत नरहेपछि स्थानीयबासी आजित भएका हुन् ।स्थानीय बासिन्दाले वडा कार्यालयले सरसफाइमा कुनै चासो नदिएको गुनासो गरेका छन् ।
यहाँ कुहिने र नकुहिने सबैखाले फोहोर फालिन्छ । बस्तीका एकसय बढी परिवार फोहोरको दुर्गन्धबाट प्रभावित भएका छन् ।
फोहोरमाथि मिस्कट हालेर पुर्ने काम नहुँदा दुर्गन्ध, झिंगा, लामखुट्टे बढेर बालबालिका र बृद्धबृद्धाको स्वास्थ्य जोखिममा परेको र जुनसुकै बेला महामारी फैलिने डर भएको स्थानीय सियाकान्त शरणले बताए ।
फोहोरको उचित व्यवस्थापन गर्न जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि कुनै चासो नलिएको शरणको दुःखेसो छ ।
‘फोहोरको थुप्रो पहाड बन्यो, गन्हाएर बस्न/खान नसक्ने छ, महामारी फैलिने डर भयो,’ शरणले भने, ‘समस्या समाधान गर्दिनु पर्यो भन्दा जनप्रतिनिधिले कुनै चासो दिंदैनन् ।’
स्थानीय सतिश कर्णले चुनावमा स्मार्ट र स्याटलाइट सिटी बनाउँछौं भनेर झुठा आश्वासन बाँडेका जनप्रतिनिधिहरु अहिले बस्तीमा फोहोरको विशाल थुप्रो जम्मा भएपनि सरसफाइप्रति कुनै चासो नदेखाएको गुनासो सुनाए ।
‘उपमहानगरको बेइज्जत हुनु विडम्वना भएको छ,’ उनले भने, ‘उपमहानगरले तत्काल फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ ।’
यता, वडा नम्बर–७ का वडाध्यक्ष निरज कुमार साह (मुन्ना)ले फोहोरको उचित व्यवस्थापनमा वडा कार्यालय लागिरहेपनि विकल्प अझै नभेटिएको बताउँछन् ।
उनले डम्पिङ साइट नरहेकोले फोहोर व्यवस्थपनमा समस्या भएको सुनाए । फोहोर व्यवस्थापनको समस्या चाँडै समाधान गर्न उपमहानगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


