जनकपुरधाम, १६ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षबाट ६ जना थुनुवा फरार भएका छन् ।

आइतबार राति हिरासत तोडेर ६ थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।

फरार हुनेहरूमा क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने लागूऔषध मुद्दाका अभियुक्त ३० वर्षीय विनोदकुमार शर्मा, क्षीरेश्वरनाथ नगरपालिका–२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय अमित मण्डल, क्षीरेश्वरनाथ नगरपालिका–२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका–२ बस्ने अभद्र व्यवहार मुद्दाका २५ वर्षीय हरिदीप सिंह, मिथिला नगरपालिका–६ बस्ने हातहतियार तथा खरखजाना मुद्दाका २८ वर्षीय रोशन महतो र मिथिला नगरपालिका–६ बस्ने हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंह रहेका छन् ।

फरार उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरू हिरासत कक्षतर्फको भित्ता कमजोर भएका कारण फोडेर भाग्न सफल भएको धनुषा प्रहरीले जनाएको छ ।