गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

काठमाडौं, १५ माघ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पद गुमाएका रवि लामिछाने फेरि पार्टी सभापति बनेका छन् ।
आइतबार बसेको पसो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई फेरि सभापति बनाएको हो । अर्कोतिर शुक्रबारकै फैसलाका कारण लामिछानेले सांसद, उपप्रधान तथा गृहमन्त्रीको पद पनि गुमाएका थिए ।
अदालतको फैसलाका कारण गृहबाट पदच्यूत भएका लामिछानेलाई फेरि गृहमन्त्री बनाएर पठाउने तयारीमा रास्वपा रहेको छ ।आइतबार बसेको बैठकमा सरकारमा सहभागी हुन आफूहरुले गृह मन्त्रालय नै पाउनु पर्ने उनीहरुले दाबी गरेका छन् ।
‘गृह मन्त्रालय नै हाम्रो बटमलाइन हो,’ रास्वपाका एक नेताले भने, ‘गृह मन्त्रालय पाएनौँ भने हामी सरकारबाट बाहिरिन्छौँ ।’
बैठकमा उनीहरुले गृहमन्त्रीको रुपमा फेरि रवि लामिछानेलाई नै पठाउने तयारी गरेका छन् । संविधानतः गैर सांसद व्यक्ति ६ महिनासम्मका लागि मन्त्री हुन पाउँछन् । योबीचमा हुने चितवन–२ को उपनिर्वाचनमा उनले जितेर आउने अनुमान रास्वपाले गरेको छ ।
अर्कोतिर, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


