जनकपुरधाम, १५ माघ । महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आइतबार बिहान पोखरीमा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी ४ वर्षीया छोरी अंशुकुमारी आइतबार बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलास गरिसक्दा पनि फेला फेला पारेका थिएनन् ।

उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।