काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतको फैसलाले नेपालमा कानुनी राज्यको उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

नेपाल प्रेस युनियन प्रदेश नं. १ समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुनुपर्ने बताए ।

संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उहाँले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको भनाई छ । ‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बन्न सक्ने सम्भावना छ’, उनले भने ।

नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठिन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उनले यसबारे संघीय सरकारको पनि ध्यान जानुपर्ने बताए ।