काठमाडौं, १४ माघ । माघ १ गते पोखरास्थित सेती खोँचमा दुर्घटना भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अझै भेटिएका छैनन् । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ ।

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि हराइरहेका एक यात्रुको खोजी कार्य दैनिकरुपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोँचमा खसेको थियो । खोज तथा उद्धारको क्रममा दुर्घटनामा परेका ७१ जनाको शव फेला परे पनि एक जना भने भेटिएका थिएनन् ।