काठमाडौं, १३ माघ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो ।

शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेपछि अनेरास्ववियूले त्यसको विरोध जनाएका हुन् । उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् ।

मन्त्रीको उक्त निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको भन्दै यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले विरोध जनाएका छन् ।