काठमाडौं, १२ माघ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र रास्वपासँग मिलेर घेराबन्दी गरेको आरोप लगाएका छन् ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सरकार बनेको दिनदेखि नै ओलीले अप्ठ्यारो मात्रै बनाएको गुनासो गरेको माओवादी स्रोतले बताएको छ ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीको शपथग्रहणसँगै सबै पार्टीबाट एक–एकजनाले शपथग्रहण गर्ने सहमति थियो । तर एमालेले चारजना मन्त्री पठाएको भन्दै प्रचण्डले असन्तुष्टि पोखेका छन् ।

एकथोक भन्ने, अर्को गर्ने ओलीको पुरानो बानी अझ पनि उस्तै रहेको भन्दै प्रचण्डले बैठकमा ओलीको व्यहारप्रति असन्तुष्टि पोखेका थिए । मन्त्रालय बाँडफाँटमा आफूले मात्र राम्रा–राम्रा मन्त्रालय छान्ने मात्र नभएर भनेर रास्वपा र राप्रपालाई पनि अप्ठ्यारो पार्न लगाएको गुनासो गरेका थिए ।

नेकपा हुँदा नारायणकाजी श्रेष्ठभन्दा पछाडि रहेका विष्णु पौडेललाई माथि राख्न लगाएको भन्दै प्रचण्डले ओलीप्रति असन्तुष्टि पोखेका थिए । बैठकमा प्रचण्डले गठबन्धन बनाउन सहज भए पनि सरकार चलाउन भने असहज हुँदै गएको बताएका थिए ।

बैठकमा प्रचण्ड एमालेलाई राष्ट्रपति दिन अनिच्छुक रहेको आशय राखेका थिए । राष्ट्रपति सकेसम्म आफैँलाई राख्ने नभए सहमतिमा एमालेबाहेकको दललाई राष्ट्रपति दिने प्रचण्डको मनसाय रहेको बताइन्छ । ‘सबै पद एउटै पार्टीलाई दिँदा भोलि के अवस्था आउँछ ?त्यही भएर के गर्न सकिन्छ, सबै मिलेर छलफल गरौँला,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।