काठमाडौं, १२ माघ । आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ ।

बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी दिएको प्रहरीले जनाएको छ । उनीहरूले आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । कति जनाविरूद्ध जाहेरी दिएको भन्ने उनले खुलाएनन् ।

स्वागत नेपाल लगायतको टोलीले टेकु पुगेर जाहेरी दिएका हुन् । आचार्यले सामाजिक सञ्जालमा उल्लेख गरेका सबै जनाविरूद्ध जाहेरी दिएको नेपालले बताएका छन् ।

मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि इलाम घर भएका आचार्यले आफैंमाथि आगो लगाएका थिए । आगो निभाएर उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

उनको मृत्युपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अस्पतालमै पुगेर मृतक परिवारसँग भेटेका थिए । आफूमाथि आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि, समस्या र मागलगायत विभिन्न विषय उठाएका थिए ।

उनले उठाएका विषयमा छानबिन गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाएका थिए । त्यसअनुसार बुधबार बसेको मन्त्रिपरिषदले छानबिन गर्ने निर्णय समेत गरेको थियो ।

बिहीबार गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । गृह मन्त्रायका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा समिति गठन भएको हो ।

अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहनेछन् ।