पर्सा, १२ माघ । पर्सा प्रहरीले आफू कार्यरत मनि ट्रान्सफर कम्पनीको रकम लिएर फरार भएका ३ जनालाई पक्राउ गरेको छ । एकजना अझै फरार छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का २२ वर्षीय आकाश साह, २२ वर्षीय सञ्जय साह र २१ वर्षीय मोहम्मद सकिर मिया रहेको प्रहरीले जनाएको छ ।

आफू कार्यरत वीरगञ्ज– १० स्थित माँ दुर्गे मनि ट्रान्सफर प्रालिबाट मंगलबार उनीहरू ४ लाख १४ हजार ८ सय रुपैयाँ आपसी मिलेमतोमा भागबण्डा गरी फरार भएको आरोप थियो । मनि ट्रान्सफरका सञ्चालक विजय साह सर्राफले कृषि विकास बैंक वीरगञ्ज शाखामा जम्मा गरेर भरपाई भौचर लिइ आउनका लागि उनीहरुलाई पठाएकोमा उनीहरुले बैंकमा रकम जम्मा नगरी आपसी मिलोमतोमा भागबण्डा लगाई फरार भएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ ५ बजे वीरगञ्ज–१० बाटै नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैयाँ बरामद समेत भएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तथा फरार रहेका एकजनाको पहिचान भइसकेकाले उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।