जनकपुरधाम, ११ माघ । जनकपुरधामस्थित युनिभर्सल एकेडमी कलेजले सरस्वती पूजनोत्सवको अवसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूले संकटमोचन मन्दिर परिसर तथा रंगभूमी मैदानको बृहत् सरसफाइ गरेका हुन् ।

कलेजका सञ्चालक संजय यादवले सरसफाइ कार्यक्रमको शुभारम्भ गरेका थिए । यादवले भने ‘शैक्षिक वातावरण स्वस्थ बनाउन सरसफाइको संस्कार अपरिहार्य छ । सफा र शान्त वातावरणमा ज्ञान लिन र दिन आफैंबाट सुरु गर्नुपर्छ ।’

उनले शिक्षासँगै सरसफाइ क्रियाकलापलाई कायम राख्नु शैक्षिक वातावरण निर्माण गर्नु सरह रहेको बताउँदै फोहर गर्ने भन्दा सरसफाइ गर्ने सभ्य नागरिक हुन भन्ने धारणा राख्दै सरसफाइ कार्यक्रममा सहभागी कलेजका सबै शिक्षक तथा विद्यार्थीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बृहत् सरसफाइ कार्यक्रम क्याम्पस परिसर हुँदै संकटमोचन मन्दिर र रंगभूमी मैदानसम्म गरिएको थियो । सरसफाइमा क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

आफ्नै घरआँगन र सडकमा सरसफाइका लागि क्याम्पसले पहल गर्दा स्थानीय बासिन्दाले खुशी हुँदै साथ दिएका थिए ।

युनिभर्सल एकेडमी कलेजले शैक्षिक गतिविधिसँगै विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।