दशरथ तलाउ र आसपासको क्षेत्रमा बृहत् सरसफाइ गरियो

जनकपुरधाम, ११ माघ । सरसफाइ अभियानीहरूले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै बुधबार फेरि जनकपुरधामस्थित प्रसिद्ध दशरथ तलाउ र आसपासको क्षेत्रमा बृहत् सरसफाइ गरेका छन् ।
‘सरसफाइको मामिलामा नो कम्प्रोमाइज’ भन्दै बुधबार बिहान ८ बजेदेखि यात्री निवासको अगाडी रहेको दशरथ तलाउको डीलमा बृहत् सरसफाइ गरिएको हो ।
सरसफाइ अभियानी धिरेन्द्र साहले भने, ‘बाहिरबाट आउने पर्यटकहरू प्रायः जनकपुरधामको यात्री निवास वा पगलाबाबा धर्मशालामा बस्छन् । र, आस्थाले दशरथ तलाउमा नुहाउँछन् । पोखरीलाई सौन्दर्यीकरणका लागि चारैतिरबाट घेरिएर त्यहाँ बस्नलाई कुर्सीहरू बनाइए पनि बस्न लायक न त ति कुर्सीहरू छन् न त सो बाटोबाट हिंडन सहज छ । कारण छ फोहोर । यसै अवस्थालाई दृष्टिगत गर्दै हामीले सरसफाइ गरेका छौं ।’
व्यवस्थित गरेर पनि त्यसमाथि सम्बन्धित निकायको ध्यान र हेरचाह नपुग्दा त्यसको सौन्दर्यतामा कालो बादल जस्तै फोहोरले गर्दा कुरुप र अव्यवस्थित देखिएको उनले बताए ।
कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले वातावरण र सरसफाइले मानिसको दैनिक जीवनमा ठूलो भुमिका खेल्ने बताउँदै आफू पनि यस पुण्य काममा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।
दशरथ तलाउको डिल सरसफाइ कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, गोरखापत्रका ब्युरो प्रमुख धीरेन्द्र साह, कान्तिपुरका सम्वाददाता सन्तोष सिंह, आफन्त नेपालका जिल्ला संयोजक कविता यादव, इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, एकल महिलाकी प्रदेश अधिकृत पूजा साह, राष्ट्रिय मानव अधिकार आयोगकी रेखा दत्त, जनकपुर जेसिजका सल्लाहकार राजेन्द्र साह, पत्रकार आरती मण्डल, सञ्जय साह, लुमिनस ब्यूटि पार्लरकी सञ्चालिका गीता पौडेल, सरसफाइ अभियानि धीरेन्द्र साह, सञ्जु यादवलगायत दर्जनौंको सहभागिता रहेको थियो ।
सरसफाइ अभियानीहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समय–समयमा बृहत् सरसफाइ अभियान, खानेपानी व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।



















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


