काठमाडौं, ११ माघ । पोखरा जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए ।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ । उनले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी बताए ।

यो विधीबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो ।

गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना हुदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।