बिचौलियाको काम गर्ने एक युवक जनकपुरबाट पक्राउ

जनकपुरधाम, १० माघ । धनुषा प्रहरीले बिचौलियाको काम गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बस्ने ३९ वर्षीय दिपक ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
सेवाग्राहीसँग १ हजार ५ सय रुपैयाँ लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई कार्यालयका कर्मचारीहरू आफ्नो चिनजानको रहेको र चाँडै काम गराइदिने भन्दै जनही तीनहजार रुपैयाँसम्म लिने गरेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


