काठमाडौं, १० माघ । बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् ।मंगलबार काठमाडौैं जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो ।

प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखनको छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । जसमध्ये बाल यौन दुरुपयोगमा पाण्डेलाई ६ महिनाको कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहित अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्ने व्यवस्था छ । सोही अनुसार पाण्डेलाई मानव बेचबिखनको मुद्दामा सजाय निर्धारणका लागि माघ २३ को पेशी तोकिएको हो ।