वैदेशिक रोजगारमा जाने महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड

जनकपुरधाम, १० माघ । वैदेशिक रोजगारमा जाने महिलामा थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
मंगलबार जनकपुरधाममा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले सो विषयमा जोड दिएका हुन् ।
वैदेशिक रोजगारका लागि दुबई र कतार गएर फर्किएकी जनकपुरधाम–४ की मुन्नी खातुनले वैदेशिक रोजगारमा जाँदा सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा आफूले निकै दुःख भोग्नु परेको अनुभव सुनाइन् ।
उनले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडीमुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहनसमेत नपाउँदा आफ्नै चिन्ताले पति गुमाउनु परेको पीडासमेत पोखिन ।
१० वर्षअघि साउदीबाट फर्केकी खातुनले आफूलाई वैदेशिक रोजगारसम्बन्धी नीतिनियम कानुन केही थाहा नहुँदा श्रम शोषणमा परेको अनुभव सुनाइन् । घरेलु कामदारको रुपमा रहँदा आफूले भोग्नु परेको पीडा सुनाउँदै उनले सरकारका कतिपय नीति नियमबारे आफूहरु अञ्जान रहँदा पनि पीडित हुनुपरेको उनको भनाइ थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले हरेक क्षेत्रमा समस्या देखिएको जनाउँदै त्यसलाई व्यवस्थित गर्ने नीतिनियम र त्यसको कार्यान्वयनको पक्षमा जोड दिन आवश्यक रहेको बताए ।
उनले वैदेशिक रोजगारमा जाने महिलाको लागि पहिला त्यस देशको भाषा संस्कार संस्कृतिको बारेमा सामान्य भए पनि जानकारी लिनुपर्ने र कुन कामको लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने धारणा राखे । उनले सरकारले निषेध गरेका बाहेकका मुलुकमा जाँदा श्रम स्वीकृति लिएर सीप सिकेर जाँदा समस्या कम हुने बताए ।
कार्यक्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले धनुषामा महिलाको वैदेशिक रोजगारीसम्बन्धी सवाल र महिलाको सुरक्षित तथा मर्यादित रोजगारीका लागि अवलम्बन गर्नुपर्ने उपायको बारेमा बताएका थिए । उनका अनुसार धनुषा जिल्लाको २०७९ साउन देखि मंसिरसम्मको तथ्याङ्कमा ४ हजार ४१९ जनामध्ये ११७ जना महिला वैदेशिक रोजगारमा गएका छन् ।
उनले वैदेशिक रोजगारीमा गएका महिलाप्रति सकारात्मक दृष्टिकोणको खाँचो रहेको र सकारात्मक भन्दा नकारात्मक विषयले बढी प्राथमिकता पाउँदा वैदेशिक रोजगारमा गएर आएका महिला समाजमा खुल्न नसकेको बताए ।
आयोगका उपसचिव सीता अधिकारीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिलामाथि विभिन्न खालका हिंसा हुने गरेका घटना सार्वजनिक भएसँगै आयोगले २१ वर्षको इतिहासमा पहिलो पटक वैदेशिक रोजगार र महिलाको सवाललाई चासो दिएर कार्यक्रम गरेको बताए ।
अधिकारीले महिला अधिकारको समग्र विकास गरी लैङ्गिक न्याय कायम गर्न बनेको आयोगले पछिल्लो समय वैदेशिक रोजगारमा रहेका महिलामाथि हुने हिंसाका धेरै घटना बाहिर आएको र यसलाई न्यूनीकरण गर्नका लागि आज उठेका सवाल र सुझावले आगामी रणनीतिक योजना बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख संगीतादेवी ठाकुर, मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोजकुमार यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, राष्ट्रिय मानव अधिकार आयोगकी रेखा दत्त, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, पत्रकार अजय झा, संतोष कर्ण, महिला अधिकारकर्मी शिला झालगायतकाले वैदेशिक रोजगारमा महिलाको अवस्था र सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरामा सुझाव दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


