जनकपुरधाम, ८ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदिश साहका २५ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णु साहको हत्या भएको हो ।

आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुबै युवकको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । दुईसाता अघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए ।त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो ।

अपहरणकारीले विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो । तर, गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।

आइतबार बिहान दुईवटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रियपूर्वक लागेको जानकारी दिए । उनले अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले प्रहरीलाई समयमा जानकारी नदिएको बताए ।

घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीले दुईजना र भारतीय प्रहरीले तीनजानालाई पक्राउ गरेको एसपी खड्काले जानकारी दिए । उनीहरुको नाम अहिले गोप्य राखिएको छ । घटनामा संलग्न अन्य चारजना फरार रहेको बताइएको छ ।