९ वर्षीय बालकको हत्या गरेको आरोपमा काकासहित दुईजना पक्राउ

रौतहट, ६ माघ । ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
रौतहटको माधवनारायण नगरपालिका–८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय रामलाई पक्राउ गरेको छ ।
जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
गत वर्ष मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।
उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


