काठमाडौं, ६ माघ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी छन् ।शुक्रबार संघीय संसद सचिवालयमा मुक्ताले उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो । धनुषाकी यादव पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।

यता, सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराइसकेकी छन् ।संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ । उपसभामुखको चुनाव शनिबार हुँदैछ ।

यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।