काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपछि शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अंग दान गर्ने घोषणा गरेका हुन् ।

‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु,’ प्रचण्डले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो । केन्द्रमा मृगौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’

नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ ।