काठमाडौं, ५ माघ । तीन दिनअघि काठमाडौंको चोभारस्थित पुलबाट नदीमा खसेको कारमा सवार पुरुष मृतावस्थामा फेला परेका छन् ।

दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बस्दै आएका ४७ वर्षीय राजकुमार खत्रीले चलाएको कार तीन दिनअघि दुर्घटनामा परेको थियो ।

गत सोमबार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार बा५च ५६५४ नम्बरको कार चोभारको पुलबाट बाग्मती नदीमा खसेको थियो । कार खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

कार दुर्घटनापछि घाइते अवस्थामा भेटिएकी अम्बिकाको अहिले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पु¥याए र थप उपचारका लागि ट्रमा सेन्टरमा पठाएको हो ।

कार पुलबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनाको तीन दिनपछि कारमा सवार राजकुमार मृतावस्थामा फेला परेका हुन् ।