काठमाडौं, ५ माघ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताउँदै सभामुख घिमिरेले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

’म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधिसभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु,’ उनले भने, ’विगतका सभामुखको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।’

बिहीबार भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने जम्मा १०० मत मात्र प्राप्त गरिन् ।