पोखरा, २ माघ । आइतबार यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप दुईजनाको शव सोमबार फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।

योसँगै अहिलेसम्म ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका दुईजनाको भने मंगलबार मात्रै खोजी गरिने जानकारी दिए ।

उनले भने, ‘त्यो खोंच दिउँसै पनि डेन्जर ठाउँ हो । राति नमिल्ने भएकाले मंगलबार बिहानैबाट खोजी गर्छौं ।’

एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने उनले बताए ।

४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।