प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटघाट

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाट भएको छ ।प्रधानमन्त्री प्रचण्ड आज बिहान ओलीनिवास बालकोट पुगेका थिए ।
२६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएयता प्रधानमन्त्री प्रचण्ड दोस्रोपटक बालकोट पुगेका थिए ।
आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ ।
बुधबार सभामुखको निर्वाचन हुँदैछ । त्यस्तै, २८ माघभित्र राष्ट्रपति निर्वाचन गरिसक्नुपर्नेछ । अहिलेसम्म यी दुई पदका लागि दलहरूले उम्मेदवार टुंग्याइसकेका छैनन् । सत्ता साझेदार दलहरूबाटै सभामुख र राष्ट्रपति बन्ने सम्भावना छ ।
यद्यपि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले एमालेमा आशंका उब्जिएको छ । उसले प्रचण्डसँग कांग्रेसको गोप्य सहमति भएको हुनसक्ने आशंका गरेको हो । तर, प्रधानमन्त्रीले भने कांग्रेससँग कुनै सहमति नभएको बताउँदै आएका छन् ।
यही आशंकाका बीच ओलीले प्रचण्डसँग निरन्तर छलफल गरिरहेका छन् । ओलीले आइतबार पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका थिए । सो भेटमा आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


