काठमाडौं, २ माघ । पोखरामा आइतबार बिहान भएको यती एअरलाइन्सको विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ ।

दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ ।

सरकारले आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन् ।

सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।