चालक दलका सदस्यसहित केहीको शव काठमाडौं लगिने

काठमाडौं, २ माघ । आइतबार पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं लगिने भएको छ ।
दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौं ल्याइने शवको हकमा काठमाडौंमै पोस्टमार्टम गरिनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइनेछ । उनका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जाँदैछ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


