जनकपुरधाम, ३० पुस । जनकपुरधामस्थित प्रतिष्ठित रामानन्द युवा क्लबको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

मिथिला कला, संस्कृतिको क्षेत्रमा विगत लामो समयदेखी काम गर्दै आएको रामानन्द युवा क्लबको निर्वाचन माघ २ गते हुन लागेको हो ।

माघ २ गते सोमबार हुने निर्वाचनको शुरूवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने क्लबले जनाएको छ ।

क्लबको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा शशिभुषण झा (आशुतोष) र भरत सिंह प्रतिस्पर्धामा छन् । दुबैजनाबीच चर्को प्रतिस्पर्धा हुने भएको छ । दुबैजना प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षमा शशिभुषण झा (आशुतोष) र भरत सिंह, उपाध्यक्षमा संतोष मान सिंह र राजेश दास (काले), महासचिवमा रोशन कुमार मिश्र र संतोष ठाकुर, सचिवमा मिथिलेश झा र विशेश्वर साह तथा कोषाध्यक्षमा शम्भु पोखरेल र जितेन्द्र साहबिच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै, सदस्यहरूमा शशिभुषणको समुहबाट रूपेश कुमार सिंह (मुन्ना), राजकुमार मिश्र, राजिव कुमार झा, संतोष कुमार मुखिया (सर्किट), उदय शंकर प्रसाद साह र चिरञ्जीवी प्रसाद सिंह (दिपक) ले उम्मेदवारी दर्ता गराएका छन् भने भरत सिंहको समुहबाट सुनिल यादव, संजिव कर्ण, शिवेश ठाकुर, रंजित राज सिंह, अटलविहारी झा र महेश कुमार रायले उम्मेदवारी दिएका छन् ।

सदस्य पदमा यी दुबै समुहबाहेक जानकी रमण झाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचनले दुई वर्षका लागि क्लबको नयाँ नेतृत्व चयन गर्नेछ । रामानन्दको निर्वाचन प्रक्रियामा २३६ जना भोटरले मताधिकार पाएका छन् ।