सर्लाही, ३० पुस । सर्लाही प्रहरीले छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चारजनालाई पक्राउ गरेको छ ।

सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको १० लाख ४५ हजार रकमसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गस्तीमा खटेको प्रहरी टोलीले बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय पहलाद चापागाई, सोही कारमा सवार मनोहरा–२ बस्ने २७ वर्षीय सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षीय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

त्यस्तै प्रहरीले मलङ्गवा–२ नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडिबाट २ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको सीतामढी मढिया–३, तिलहंगी बस्ने जयलाल महतोका छोरा १९ वर्षीय राहुल महतो रहेको प्रहरीले जनाएको छ ।

महतोलाई नगदसहित साइकलबाट आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।