जनकपुरधाम, २९ पुस । उच्चस्तरीय तलब सुविधा आयोगलाई सुझाव पेश गर्नका लागि नेपाल निजामती कर्मचारी संगठन मधेस प्रदेशले आठवटै जिल्लाका संगठनमा आवद्ध कर्मचारीहरुसँग सुझाव संकलन गरेको छ ।

शुक्रवार जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा आठवटै जिल्लाबाट आएका निजामती कर्मचारीहरुले उच्चस्तरिय तलब सृुविधा आयोगका लागि गरिएको सुझाव संकलनमा आ–आफ्नो तर्फबाट राय र सुझावहरु टिपाएका थिए ।

कार्यक्रममा संगठनले उच्चस्तरीय तलब सुविधा आयोग काठमाण्डौलाई सुझाव पेश गर्न तयार गरिएको छलफल पत्र प्रस्तुत गरेका थिए ।

छलफल पत्रमा तलब सुविधा पुनरावलोकनका लागि विभिन्न आधारहरु पेश गरिएको थियो । जसमा कानुनी आधार, तलब निर्धारका मान्यताहरु, अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको मापदण्ड र मर्यादाक्रमलगायतको आधार पेश गरिएको थियो । कर्मचारीको कार्यदक्षता, उत्पादकत्व र मनोबल वृद्धि गरी समग्र विकासका तथा भ्रष्टाचार कम गरी सुशासन कायम गराउनका लागि तलब सुविधा वृद्धि गर्नुपर्ने छलफल पत्रमा प्रस्तुत गरिएको थियो ।

छलफलपत्रमा सेवा प्रवाहको क्षमतामा अभिवृद्धि गरी सरकारमाथिको विश्वसनीयता वढाई कार्य सम्पादन क्षमता बढाउन र राष्ट्रसेवकको आय बढ्दा आर्थिक क्रियाकलापमा बढोत्तरी भई समग्र आर्थिक वृद्धिमा सहयोगका लागि कर्मचारीको तलब वृद्धि आवश्यक रहेको भनिएको छ ।

नेपाल निजामती कर्मचारी संगठनले आयोगलाई प्रस्तुत गरेको सुझावहरुमा क्षतिपुर्ति सहितको नागरिक सेवा प्रवाह, ग्रेड व्यवस्था, हरेक तीनवर्षमा तलब पुनरावलोकन देखि लिएर स्वचालित तलब वृद्धिको व्यवस्था र न्युनतम तलब र उच्चतम तलबको अनुपात बढीमा १ दशमलब ५ प्रतिशत कायम गर्न सुझाव दिइएको छ ।

आयोगलाई बुझाईने प्रतिवेदनमा कर्मचारीहरुका लागि वैदेशिक तालिम पदोन्नती उच्च अध्यनको अवसर जस्ता विकासहरुको सुनिश्चितता, पारवहन भत्ता दुई हजार, आवास भत्ता १० हजार, शैक्षिक भता प्रतिसन्तान दुई हजार, खाजा खर्च पाँच हजार देखि लिएर स्थानिय भत्ता, स्वास्थ्य विमाको अनिवार्यता सम्मको सुझाव दिइएको छ । त्यसैगरि सवारी साधनको व्यवस्था, ल्यापटपको व्यवस्था, सन्तती छात्रवृति, घरआवास सरल कर्जा र विकास खर्चको दोहरोपन हटाउने लगायतको सुझाव समेत प्रतिवेदनमा पेश गरिने बताइएको छ ।

साथै ट्रेड युनियन अधिकारको व्यवस्थापन, क्षतिपुर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेण्टी, भ्रष्टाचार विरोधी आन्दोलन र सदाचारको सवलीकरण, वैज्ञानीक र चक्रिय सरुवा बढुवा प्रणालीको लागि प्रयास लगायतको विषयहरु समेत समावेश गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन मधेस प्रदेशका अध्यक्ष जीतनारायण भगतको अध्यक्षतामा भएको सो अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष प्रभाश साहले शीघ्र सेवा र तिव्र विकासको अवधारणालाई सार्थकतामा ल्याउनु अति आवश्यक भएको बताए ।

जनताको हेराई नेताहरुको चरित्र जस्तै कर्मचारीलाई पनि चित्रण गरिदै आएकोले यसलाई परिवर्तन गर्नका लागि कर्मचारीहरुलाई इमान्दार बनेर अगाडी बढनुको अर्को विकल्प नरहेको उनले बताए ।

छिटो छरितो सेवा गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले कर्मचारीप्रति जनताको वितृष्णा हटाउनका लागि हामीलाई इमान्दार बन्नु अति आवश्यक रहेको बताए । उनले तलबको बढोत्तरी मात्रै हाम्रो लक्ष्य नरहि देशको विकासका लागि पनि हाम्रो योगदान महत्वपुर्ण हुनुपर्ने र यसका लागि सवैले आ–आफ्नो तवरबाट काम गर्नुपर्ने बताए ।

कार्यक्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विभिन्न कारणले निजामती कर्मचारीहरुसँग गरिएको द्धेशभावका कारण कर्मचारीको मनोवल खस्केको र यसलाई पुर्नताजगीमा ल्याउनका लागि पनि सवैले मिलेर सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका निजामती कर्मचारीहरुले आ–आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।