जनकपुरधाम, २७ पुस । शहीद पत्रकार उमा सिंहको हत्या भएको आज १४ वर्ष पूरा भएको छ । नेपाल पत्रकार महासंघ धनुषा लगायत विभिन्न संगठनहरूले आज सिंहको १४औं स्मृति दिवस मनाएको हो ।

महासंघ धनुषा शाखाले बुधबार साँझ जनकपुरधामस्थित जनकचोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरि स्वर्गीय पत्रकार सिंहको स्मृति दिवस मनाएको हो ।

पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाको अध्यक्षतामा आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभामा जनकपुरधामका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

महासंघले प्रत्येक वर्ष पत्रकार सिंहको स्मृति दिवस मनाउँदै आएको छ ।

वि.सं. २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित डेरामा पत्रकार सिंहको विभत्स हत्या गरिएको थियो ।

रेडियोमा समाचार वाचन गरेर डेरा फर्केकी उनलाई १०/१५ जनाको नाकावधारी समूहले शरीरका कैयौं भागमा खुकुरी प्रहार गरेका थिए । रगतले भिजेकी उनलाई स्थानीयले केयर मेडिकल अस्पताल पुर्याए । तर, अत्यधिक रगत बगिसकेका कारण चिकित्सकले बचाउन सकेका थिएनन् ।