मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट ३ जना पक्राउ

पर्सा, २७ पुस । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज–८ का ५४ वर्षीय अनिलकुमार अरोडा र लम्जुङ राइनास नगरपालिका–४ का ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।
अनिल र रमेश वीरगञ्ज लिंक रोडस्थित रानीपोखरी होटलका कर्मचारी हुन् । अनिल होटलका व्यवस्थापक हुन भने रमेश वेटरको काम गर्थे ।
पुस २४ गते वीरगञ्ज–१५ स्थित रानीपोखरी होटलमा मानव बेचबिखन तथा ओसारपसारको काम भइरहेको सूचना प्रहरीलाई आएको थियो । सूचनाको आधारमा राति १० बजे चेकजाँच गर्दा होटलको १०८ नम्बर कोठामा २५ वर्षीया युवति र डोलनाथ आपत्तिजनक अवस्थामा फेला परेका थिए ।
महिलासँग प्रारम्भिक सोधपुछ गर्दा मन्जुरी नहुँदा नहुँदै वेश्यावृत्ति गर्न बाध्य पारिएको भनी बयान दिएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार होटलमा काम गर्ने अनिल र रमेशले कारागारमा जेल जीवन बिताइरहेका श्रीमानलाई छुटाइ दिने र एक रातकै नगद ४ हजार दिलाई दिने प्रलोभनमा महिलालाई पारेका थिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूर भएको देखिएकोले उनीहरू तीनै जनालाई नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


