जनकपुरधाम, २५ पुस । सप्तरी प्रहरीले स्रोत नखुलेको करिब ५३ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साईन नगरपालिका–९ देउरी बस्ने ३२ वर्षीय रामबिलास साह तेली र वडा नम्बर–७ बस्ने ५० वर्षीय मायानन्द झा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बोदेबरसाईन–५ बरसाईन बजारस्थित कौशल किशोर यादवको घरमा कोठा भाडा लिई बस्ने मानिसहरुले कोठामा नेपाली रुपैयाको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो काठमाण्डौ र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले अबैध रकमसहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

प्रहरीको संयुक्त टोलीले उक्त घरको कोठामा खाटमाथि कपडाले छोपेर राखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय र सोही कोठामा बसिरहेका साहले बोकेको कालो ब्यागबाट १५ लाख तथा झाले बोकेको झोलाबाट ९ लाख गरी ५२ लाख ८९ हजार ५ सय रुपैयाँ, मोवाइल २ थान र हिसाब लेखिएको कापी ५ थान फेला पारेको प्रवक्ता सिंहले जानकारी दिए ।

बरामद गरिएको रकमसहित दुबैजनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।