पर्सा, २४ पुस । पर्सा प्रहरीले साथीको अपहरण गरेको आरोपमा चारजना बालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चारजना बालकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार घटना शनिबार बिहान साढे ५ बजे भएको हो ।

वीरगन्ज महानगरपालिका–१६ इनर्वा बस्ने १६ वर्षीय बालक आफ्नो घरको आँगनको कलमा हात मुख धोइरहेका थिए । त्यसबेला सँगै अध्ययन गर्ने चारजना साथीहरूले मिलेर कम्बलले उनलाई छोपेको डिएसपी गिरीले बताए ।

बालकलाई नियन्त्रणमा लिएर मुखमा कपडा कोचेर बोल्न कराउन समेन दिई घरबाट ३ सय मिटर टाढा सम्म लगेको पाइएको छ ।

सुनसान खाली चौरमा लगेर मुखमा थप गलबन्दी, पन्जा तथा रूमाल समे कोचेको पाइएको छ ।

कालो केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर र हात खुट्टा समेत बाँधेर नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए ।

परिवारले आफ्ना बालक हराएको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो ।

उक्त टोलीले अपहरणमा परेका बालकको उद्दार गरेको हो । यस्तै आरोपित चारजना बालकलाई पनि नियन्त्रणमा लिएको हो । पीडित र पक्राउ परेका आरोपितहरू कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।

डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सधैँ कक्षामा प्रथम हुने गर्थे।जसले गर्दा उनका निकटतम प्रतिस्पर्धी विद्यार्थतीहरूको रिस, द्वेस र डाहका कारण अपहरण गरेको पाइएको हो।

ती बालकमाथि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति समेत पाएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागेको हो।