जनकपुरधाम, २४ पुस । जनकपुरधाममा दिनदहाडै पसलहरुबाट सामान चोरी गर्ने क्रम बढेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा सञ्चालित एक कस्मेटिक पसलबाट बच्चाले लगाउने डाइपर चोरी भएको हो ।

स्थानीय शंकर महासेठले सञ्चालन गरेको दिव्या फैन्सी स्टोरबाट साँझको समयमा डाइपर चोरी गरिएको पीडितले बताए । उनले पसल अगाडि लगाइएको सिसिटिभी क्यामेरामा देखेपछि आफ्नो पसलबाट डाइपर चोरी भएको कुरा थाहा पाएको बताएका छन् ।

सिसिटिभी क्यामेरामा चोर मज्जाले आफ्नो मोटरसाइकल बाटो छेउमै लगाएर केहीबेरसम्म महासेठको पसल वरिपरि घुमफिर गरिरहेको देखिन्छ । करिव ३÷४ मिनेटसम्म पसलको वरिपरि घुमफिर गरेका ति व्यक्ति केहीबेरमै उनको पसल अगाडि राखिएका तिनवटा डाइपरमध्ये दुईवटा डाइपर मोटरसाइकलमा राखेर आरामले आफ्नो बाटो लागेको देखिन्छ ।

पसल सञ्चालक महासेठले जनकपुरधाममा चोरीको क्रम भने झनै बढेको बताए । उनले यसअघि पनि आफ्नो पसल अगाडिबाट सडक छेउमा लगाइएका ट्रिगार्डबाट फूलहरु चोरी भएको जानकारी दिए ।

अहिले चोरी हुने क्रम दोब्बरभन्दा बढी भएको उनले बताए । पसलबाट डाइपर, स्याम्पू, डिटरजेन्ट पनि ठूलो संख्यामा हराउन थालेको र सजगता अपनाउँदा पनि चोरी हुने क्रम दोब्बरले बढेको महासेठको दुःखेसो छ ।