रौतहट, १९ पुस । रौतहटमा सिमावर्ती क्षेत्रमा प्रहरीले साढे ४ लाख भारु रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

रौतहटको सदरमुकाम गौरस्थित भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

गौर भन्सार अगाडि चेकिङ गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार तिनीहरुको साथबाट ४ लाख ४९ हजार ५०० रुपैयाँ बरामद भएको हो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजाद कुमार मालाकार र ३२ वर्षीय सञ्जीव कुमार तिवारी रहेका छन् ।

स्रोत नखुलेको भारतीय रुपैयाँ तथा मोटरसाइकल समेत नियन्त्रणमा लिई पथलैया राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए ।