रौतहट, १७ पुस । रौतहट प्रहरीले राजपुर नगरपालिका–१ पिपरा भगवानपुरबाट ९१ किलो गाँजासहित दुई भारतीय सवारी साधन नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो गाँजासँगै जेएच १० एक्स ४२१२ नम्बरको भारतीय बोलेरो र बिआर ३० यू ०४७४ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

प्रहरी पुगेपछि गाँजा तस्कर भने फरार भएका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।