जनकपुरधाम, १७ पुस । नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिने धनुषाको विदेह नगरपालिका नगरप्रमुख बेचन दासलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार धनुषा शाखाकी अध्यक्ष मनिका झाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई नगरप्रमुख दासलाई कारवाही गर्न ज्ञापनपत्र बुझाएका हुन् ।

मधेश प्रदेशको सर्वोच्च निकाय कानून बनाउने थलो प्रदेशसभा परिसरम पत्रकार महतोमाथि गैरजिम्मेवार, अपमानजनक र अभद्र व्यवहार गरेका नगरप्रमुख दासलाई अविलम्ब कानुन बमोजिम कारबाही गर्न प्रमुख जिल्ला अधिकारी पौडेललाई ध्यानाकर्षण गराइएको छ ।

महासंघले नगरप्रमुख दासलाई कारबाही नभए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रदेशसभामा सपथ ग्रहण समारोह चलिरहेकै बेला २०७९ पुस १५ गते समाचार संकलनका लागि पुगेका अनलाईन खबर डटकमका समाचारदाता शैलेन्द्र महतो क्रान्तिलाई नगरप्रमुख दासले ज्यान मार्ने धम्की दिएका थिए ।

‘नगरप्रमुख दासले पत्रकारले लेखेको समाचारलाई नै लिएर पत्रकारलाई दुश्मन ठानी बदलाको भावना लिएर गालीगलौज र अपशब्द पहिला पनि प्रयोग गर्दै आएको हामीलाई जानकारी हुन आएको छ । पत्रकारले लेखेको समाचारले समाजलाई सही दिशातर्फ सकारात्मक परिवर्तनको रुपमा नलिई जाइलाग्नु समाज, राष्ट्र र स्वयम् आफ्नै लागि पनि दुर्भाग्यपूर्ण रहेको छ । त्यसैले यस घटनाको जति निन्दा र भर्त्सना गरेपनि कम नै हुनेछ, ज्ञापनपत्रमा भनिएको छ,‘ नगरप्रमुख दासले सार्वजनिक रुपमा पत्रकार महतोसहित अन्य पत्रकारहरुलाई समेत कुटपिट गर्ने जस्ता अभिव्यक्ति दिनु कानूनी राज्यको उपहास हो । तसर्थ यस्ता गैरजिम्मेवार, अपमानजनक र अभद्र व्यवहार गरेका नगरप्रमुख दास प्रति नेपाल पत्रकार महासंघ धनुषा शाखा खेद प्रकट गर्दै उनले गरेको क्रियाकलापका लागि उनी माथि कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषा सहित सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदछौं । यथाशिघ्र नगरप्रमुख दासलाई कानूनी दायरामा नल्याईए नेपाल पत्रकार महासंघ धनुषा शाखा चरणवद्ध आन्दोलनमा जान वाध्य हुने जानकारी गराउँदछौं ।’