पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन हुने

काठमाडौं, १६ पुस । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन हुने भएको छ ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको छ ।
पोखरा महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ । उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ । समारोहमा जनसहभागिता गराइने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा स्वागत गेट राखिएका छन् ।
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको र्यालीको आयोजना गरिने जनाएको छ । त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बतए । अर्का परिकल्पनाकार इञ्जिनीयर पदमबहादुर खत्री देश बाहिर रहेकाले उपस्थित गराउन नसकेको र उनीहरुलाई महानगरकोतर्फबाट नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए ।
निर्देशक गौतमका अनुसार विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएको बताए । अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए ।
नेपालको निजी विमान सञ्चालक कम्पनी बुद्ध एयरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारससम्म उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरे पनि भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमको भनाइ छ ।
मित्रराष्ट्र चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


