जनकपुरधाम, १३ पुस । महोत्तरीको पिपरा गाउँपालिकाबाट अपहरणमा परेका एक व्यक्तिलाई मधेस प्रदेश प्रहरीले उद्धार गरेको छ ।

काठमाडौँमा म्यानपावर चलाउँदै आएका सिरहाको लहान नगरपालिकाका ईसर सिद्धकीलाई मधेस प्रदेश प्रहरीको प्रहरी निरिक्षक उमाशंकर साहको नेतृत्वको टोलीले उद्धार गरेको हो ।

काठमाडौँमा म्यानपावर चलाउँदै आएका सिद्धकी जनकपुरधाम आउँदा पुस ९ गते अपहरणमा परेका थिए । उनको अपहरणमा संलग्न भारत बिहारका मधुवनी जिल्ला बेतहा पर्साका मोहम्मद मुख्तार शेषलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सिद्धकीलाई विदेश पठाई दिनका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवामा बोलाएर शेषले अपहरण गरेका थिए । सिद्धकीको ससुराली समेत रहेको बेतहा पर्साका शेषसँग पुरानो लेनदेन विवाद रहेको थियो ।

सिद्धकीले शेषसँग ५ लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेपछि शेषले अपहरणको योजना बनाएको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शेषले सिद्धकीलाई अपहरण गरेर फिरौतीका लागि २५ लाख रुपैयाँको माग गरेका थिए । अपहरणमा परेलगत्तै प्रहरी निरिक्षक साहको कमाण्डमा खटेको टोलीले फिरौतीको रकम ९ लाखसहित सिद्धकीलाई उद्धार गर्न सफल भएको थियो ।

पक्राउ परेका भारतीय नागरिक शेषलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।