पुस १५ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रने उपभोक्ता समितिको चेतावनी

जनकपुरधाम, १२ पुस । उपभोक्ता समितिले बक्यौता रकम यथाशीघ्र उपलब्ध नगराइए पुस १५ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
मंगलबार भुक्तानी माग्दै सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाउँदै समितिका पदाधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत अन्य मन्त्रालयका विभिन्न योजनाहरुको विकास निर्माणको काम गरेपनि भुक्तानी अहिलेसम्म नभएको भन्दै समितिले सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाएको हो ।
उपभोक्ता संघर्ष समितिका अध्यक्ष प्रमोद कुमार यादवको नेतृत्वमा मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र पूर्वाधार विकास कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा गत आर्थिक वर्ष ०७८/०७९ मा उपभोक्ता समितिहरुले विभिन्न विकास निर्माणका कामहरु गरेपनि उनीहरुले भुक्तानी लिन हालसम्म भने बाँकी नै रहेको र उपभोक्ता समितिले पटक–पटक मौखिक रुपमा ताकेदा गर्दा पनि हालसम्म बक्यौता रकम प्राप्त नभएकोले उपभोक्ताहरु बिच्चलिमा परेको उल्लेख छ । साथै व्यापारीहरुसँग निर्माण सामग्रीहरु चेकमार्फत उधारो किनेको र हाल सो चेकहरु बाउन्स हुँदै गएकोले अब आफूहरु असहज परिस्थितिमा पुगेकोसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उपभोक्ता समितिले अविलम्ब भुक्तानीको व्यवस्था मिलाइ दिन हुन अनुरोध गर्दै बक्यौता रकम यथाशीघ्र उपलब्ध नगराइए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ वटा योजनाको करोडौं रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसमा अन्य मन्त्रालयहरुमा गरेको कामकाज पनि रहेको छ । अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिहरुको करिव १ अर्ब भुक्तानी गर्न बाँकी छ ।

यसअघि गत मंसिर २५ गते उपभोक्ता समितिले मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायत मन्त्रालयहरु घेराउ गर्दै प्रदर्शन गरेको थियो ।
काम गरेको महिनौ बितिसक्दासमेत भुक्तानी नपाएकोले यथाशीघ्र आफूहरुको भुक्तानी हुनुपर्ने माग गर्दै समितिका पदाधिकारीहरुले नारा जुलुससहित प्रदर्शन गरेका थिए ।
आर्थिक वर्ष २०७५/०७६ मा पनि प्रदेश सरकारको योजनाको बाँकी भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले मुख्यमन्त्री लालबाबु राउत लगायत केही मन्त्रीको तस्बिर अंकित व्यानरमा जुत्ता प्रहार गरेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


